कण्डम कहाँ पाईन्छ?




Abdus Miya
२०१३ को जुन-अगष्ट तिर म अमेरिकामा थिएँ। संसारकै सबैभन्दा बिकसित देशहरुमध्ये एक अमेरिकाले मलाई धेरै कुरा सिकायो। अमेरिकामा आफुलाई मन परेकासँग डेट जानु सार्है सामान्य हुंदो रहेछ। त्यो भन्दा बढि सामान्य, पकेटमा कण्डमको प्याकेट बोकेर हिंड्नु।

केहि दिन अघि मैले फेसबुकमा लेखेको स्ट्याटस देखेँ। “ह्वेर क्यान आई फाईन्ड कण्डमस्?” म एकाएक झस्केँ। कसले लेखेछ भनेर हेरेको त चिनेजानेको नर्स। कमेन्टमा मानिसहरु लेख्दै थिए, नजिकको स्वास्थ्य चौकी, मेडिकल हल, पान पसल आदि, ईत्यादि। बडा गर्व लाग्यो। चेतना फैलाउने प्रयास कस्तो गज्जब।

हुनत, आज पनि स्कुलहरुमा “रिप्रडक्टिभ सिस्टम, मेन्सुरेशन साईकल अनि स्वप्नदोष” बारे खुलेर पढाई हुने स्थिति बनिसकेको छैन।स्कुल पढ्दा मेरा आफ्नै साथीहरुले झ्याल ढोका डम्म पारेर EPH किताब खोलेको सम्झना छ मलाई।जनस्वास्थ्य (पब्लिक हेल्थ) को विध्यार्थी म, मेरै कक्षामा यौनबारे पढाई हुँदा मुख रातो पार्ने थुप्रै साथीहरु छन्।

बाहिरबाट हेर्दा यस्तो देखिएपनि, बिशेषत युवा पिँढिमा लुकेर नै किन नहोस्, यौन सामान्य बन्न थालिसकेको छ। मेरा धेरै साथीहरुले बेला बखत बिभिन्न अनुभवहरु सुनाउँछन्।यो लेख लेख्ने क्रममा मैले जानाजान धेरैपल्ट यौनका प्रसंगहरुमा कुराकानी गरेँ। अपबाद बाहेक कोहिलाई अछुतो भेटिनँ। विवाह अगाडिको शारिरिक सम्बन्ध ठीक या बेठिक भन्ने कुरा तर्फ जान चाहन्न तर शारिरिक सम्बन्ध राख्ने नै हो भने, हामी सबैले ध्यान पुर्याउनै पर्छ।

धेरैले कण्डम किन्न निकै अप्ठ्यारो मान्दा रहेछन्, किनिहाले राख्ने ठाउँ नहुने। वालेटमा राखे, फुट्ने डर, अन्त राखे परिवारले देख्ने डर। समाधान खोज्न एकछिन घोत्लिएँ, खै केहि उपाय देखिनँ। शायद, कण्डम बोक्ने सँस्कार बिकास नगराए समस्या अझ बिकराल बन्न जान सक्छ।

सहि या गलत यसै भन्न सक्दिन। कण्डम किन्न आउने हिचकिचाहटले गरेरै अनावश्यक गर्भधारण हुनुभन्दा सामान्य तरिकाले कण्डम बोक्ने सँस्कारको थालनी गर्नु नै बेस हुनसक्ला।

कुराकानीकै प्रसङ्गमा एक मित्रले सुनाए “एकदिन कण्डम चाहियो र मेडिकल छिरेको त भाई तिम्रो बिहे भैसक्यो भनेर पो सोध्छन् साउजी!” एकछिन खुब हाँसियो अनि फेरि सोच्न थालेँ। त्यो प्रश्न स्वभाविक थियो या थिएन? शायद थिएन, कम्तिमा मेरा लागी।

कण्डम किन्नु एक समस्या छँदै छ, अब प्रयोग गर्नु अर्को समस्या। एक मित्रले बडो चाखका साथ सुनाए “दुइटा लगायो, डबल सेकुरिटि”। म अक्क न बक्क भएँ।

“कण्डम सहि तरिकाले प्रयोग गर्नुपर्छ, एउटै काफि छ। दुईटा लगाए फ्रिक्शनका कारण फुट्ने ज्यादा सम्भावना हुन्छ” मैले सम्झाएँ। कण्डम र फेमिडम दुवै एकैचोटि प्रयोग गर्दा पनि खतरा हुन्छ। मजाकै मजाकमा एउटै मात्र कण्डम लगाउँदा पनि फुटेका केहि कहानिहरु सुनियो।

कण्डम बिशेष किसिमको ल्याटेक्स रबरले बनेको हुन्छ, तसर्थ अलिकति मात्रै होस पुर्याए फुटिहाल्ने डर हुँदैन। ल्याटेक्स ऐलर्जी हुनेहरुले पनि कण्डम प्रयोग गर्न सक्छन्।कण्डम हाउस वा मेडिकल हलमा समस्याबारे जानकारी गर्नुपर्छ। खैर सामान्य जानकारिकै निम्ति भएपनि एलपल्ट प्रभावकारि कण्डम प्रयोगबारे गुगल गर्नुपर्ला।

फ्रान्सको एक गुफामा भेट्टाईएको चित्रमा एक व्यक्तिले कण्डम लगाएको पाईएपछि कण्डमको प्रयोग करिब १५,००० वर्ष पहिले नै भैसकेको मानिन्छ। वर्तमानसम्म आईपुग्दा बिभिन्न फ्लेबरमा कण्डम उपलब्ध भैसकेका छन्।

आफ्नो भन्दा अरुको बढि चासो राख्ने हाम्रो समाजले धेरैकुरा पचाउँदैन। आज पनि कण्डम प्रयोगबारे खुलेर कुरा गर्ने स्थिति छैन।धेरै साथिहरुले आफ्नो घर वरपरको मेडिकलबाट कण्डम नकिनि सकेसम्म आफुलाई नचिन्ने ठाउँमा गएर किन्ने गरेको सुनाए।

करिब ३ वर्षअघिको कुरा हो, म स्मार्ट क्लब नामक एक कार्यक्रमको नेतृत्व गर्थेँ। कण्डम दिवसको दिन साथिहरुले अगाडी बोलाएर रेड रिबन र कण्डम हस्तान्तरण गर्दा म अक्क न बक्क भएको थिएँ। पछि सुटुक्क एक जना साथीको ब्यागमा हालिदिँए। घर पुगेपछि उसले थाहा पाएछ, झण्डै मारेन।

विषय घुम्दै फिर्दै फेरी नेपालको शैक्षिक स्थितिमा प्रश्न चिन्ह लगाउन आईपुग्छ। हामीले लिने दिने शिक्षा कस्तो छ र चेतनाको स्तर कहाँ पुगेको छ? शायद सबैले एकपल्ट सोच्नुपर्ला।हामीले कस्ता विषयबारे चर्चा गर्दैछौँ र कस्ता बिषयलाई लुकाउँदैछौँ भनेर पनि सोचौँ। सभ्य, स्वस्थ र सहज समाजको कल्पना सबैले गरेको हो भने यि अनि यावत स-साना साना कुरालाई पनि त्यतिनै प्राथमिकताका साथ ध्यान दिनुपर्ला।