बजेटको बहानामा मूल्यवृद्धि





काठमाडौं - बजेटपछि वस्तुको मूल्यमा उतारचढाव आउन सक्छ। कारण, उपभोग्य वस्तुमा लाग्ने करका दरहरु बजेटमार्फत नै हेरफेर हुन्छन्। उपभोक्ताको अनुमान पनि यस्तै हुन्छ– बजेटपछि मूल्य बढ्छ। उपभोक्ताको त्यही मनोविज्ञानको फाइदा व्यापारीले उठाउँछन्। चालु आर्थिक वर्ष २०७०/०७१ का लागि प्रस्तुत बजेटले दैनिक उपभोग्य वस्तुको मूल्य तलमाथि हुने गरी करका दरहरु परिवर्तन नगरे पनि त्यसैको बहानामा बजार मूल्य बढिसकेको छ।
साउने संक्रान्तिकै दिन सर्वसाधारणले उपभोग्य वस्तुका लागि बढी मूल्य तिरे। व्यापारीले एक महिनाअघिको तुलनामा खाद्यवस्तुको १५ प्रतिशतसम्म र तरकारी तथा फलफूलको ३५ प्रतिशतसम्म मूल्य बढाएका छन्। बजारमूल्य २ साताअघिको तुलनामा निकै माथि गएको उपभोक्तावादीले बताए। खुद्रा बिक्रेताले होलसेल मूल्य बढेको भन्दै उपभोक्तासँग १५ देखि ३५ प्रतिशतसम्म बढी मूल्य लिएका छन् भने होलसेलरले सामान्य रुपमा बढेको जनाएका छन्। खुद्रा मूल्य बढेको थाहा पाएपछि होलसेल बिक्रेताले केही खाद्यान्नको मूल्य बढाइसकेका छन्। केही बढाउने तयारीमा छन्।
अहिले खाद्य वस्तुको मूल्यवृद्धि गर्नुपर्ने कुनै कारण नभए पनि ढुवानी, वर्षायाम र बजेटले सरकारी कर्मचारीको तलब बढाएको मनोवैज्ञानिक असर बजारमा देखिएको व्यापारी र उपभोक्तावादी बताउँछन्। बजेटले चुरोट र मदिरामा लाग्ने कर बढाएपछि उत्पादकले ती बस्तुको नयाँ मूल्य नतोक्दै व्यापारीले पुरानै स्टक महँगोमा बेच्न थालिसकेका छन्। खाद्यान्न र तरकारीको मूल्य बढेपछि चक्रीय स्वरुपमा त्यसको प्रभाव अन्य क्षेत्रमा परेको छ। बजारभाउ बढ्दै गएपछि कोठाभाडा, रेस्टुरेन्ट, होटल र यातायातका साधनको भाडा पनि बढेको छ।
'पछिल्लो साता तरकारीको मूल्य आकासिँदो रुपमा बढेको छ भने साउन १ देखिनै व्यापारीले खाद्यान्नको मूल्य बढाएका छन्,' उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले भने, 'कर्मचारीको तलब र भत्ता गरेर २१ प्रतिशतसम्म बढेको छ, व्यापारीले त्यसैलाई आधारमा मानेर मूल्य बढाए।'
बजेटको प्रभाव अहिले नै नपर्ने भए पनि व्यापारीले तलब वृद्धिसँगै महँगी पनि बढ्छ भन्ने आम मनोविज्ञानको फाइदा उठाउँदै मूल्य बढाएको उनले बताए। पोहोरको उही समयको तुलनामा यो वर्ष १६ देखि २५ प्रतिशतसम्म मूल्य बढेको छ। दुई महिनायता बजारभाउ उकालो चढिरहेकै बेला साउन १ गतेदेखि खाद्यान्न लगायतमा मूल्यवृद्धि भएपछि त्यसको प्रत्यक्ष मार न्यून आयका सर्वसाधरणमा परेको बाँनियाले बताए।
दुई महिनाअघि १५ रुपैयाँ प्रतिकिलो रहेको काँक्रो २ साताअघि २५ पुगेको थियो। अहिले होलसेल मूल्य नै प्रतिकिलो ३३ रुपैयाँ पुगेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। काँक्रो २ सातामै १० रुपैयाँले बढेको छ। उपभोक्तासम्म पुग्दा यसको मूल्य ४५ रुपैयाँसम्म पुग्ने व्यवसायी बताउँछन्। त्यस्तै सबैभन्दा बढी गोलभेडाको भाउ अकासिएको छ। १ महिनाअघि ३० रुपैयाँ किलो रहेको सानो गोलभेडा बुधबार ५० पुगेको छ। गोलभेडाको उपभोक्ता मूल्य ७० रुपैयाँसम्म पुगेको उपभोक्ता बताउँछन्। तरकारीहरु बन्दा, काउली, लौका, मुला, गाँजर, भिन्डी, तितेकरेला, आलु, प्याज, अदुवालगायतको मूल्य बढेको कालीमाटीका तरकारी व्यवसायी तथा नेपाल तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए। 'होलसेल मूल्य सामान्य बढे पनि खुद्रा मूल्य अलि धेरै बढेको छ। फलफूल र गोलभेडामा मूल्य उकालो लागेको छ,' उनले भने।
तरकारी तथा फलफूलमात्र नभएर खाद्यान्नको मूल्य पनि बढेको छ। दुई महिनाअघि र अहिलेको खाद्यान्न मूल्य तुलना गर्दा १० प्रतिशत माथि गएको उपभोक्तावादीले बताए । दुई महिनाअघि १३ सय ७५ रहेको स्टिम जिरा मसिनो चामल २५ किलो बोराको मूल्य अहिले १४ सय ५० पुगेको छ। सबै प्रकारका दाल, केराउ सेतो, मैदा, चिउरालगायतको मूल्य सामान्य बढेको छ।
'खाद्यान्नमा मूल्यवृद्धि गर्नुपर्ने कुनै कारण नभए पनि केही व्यापारीले मनोमानी मूल्य बढाएका छन्, यो राम्रो होइन,' नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र ब्रजाचार्यले भने। 'हामीकहाँ बजेटको भोलिपल्टै मूल्य बढाउने चलन छ, अहिले बजेटले मूल्य नबढाए पनि केही व्यापारीले आफूखुसी बढाएका हुन्,' उनले भने। कतै गुणस्तर र कतै कम्पनी फरक भएका कारण पनि मूल्य बढेको छ। तर, समग्रमा मूल्य बढेको छैन। यो केही व्यापारीको बदनियत मात्र भएको उनले प्रस्ट्याए।
'बजारभाउ केही सातायता बढिरहेको छ,' बालाजु गंगाहल अगाडि बस्ने गृहणी कमला गौतमको प्रतिक्रिया छ, 'तरकारी र फलफूल छोइसक्नु छैन, मंगलबारदेखि त चामलको भाउ पनि बढेछ,' उनले भनिन्।
उपभोक्ताबाट बजारभाउ बढेको गुनासो आएपछि उपभोक्ता हित संरक्षण मञ्चले बुधबारदेखि तरकारी, फलफुल र खाद्यान्नको मूल्यसूची संकलन गर्न थालेको उपभोक्तावादी विष्णु तिमिल्सिनाले बताए। बजारमा फलफूल र तरकारीको भाउ ठूलो अन्तरले र खाद्यान्नको भाउ विस्तारै बढिरहेको उनले बताए। 'अहिले बिनाकारण व्यापारीले मूल्य बढाएका छन्, बजेटको मनोवैज्ञानिक असर मात्र हो, सरकारले समयमै बजारमा हस्तक्षेप गरेन भने दशैं, तिहारजस्ता ठूला चाडमा महँगी झन् अकासिन्छ,' उनले भने।
तरकारी तथा फलफूल व्यापारीले काठमाडौं र आसपासमा उत्पादन हुने तरकारी पोखरा, हेटौंडादेखि भारतीय सीमासम्मका बजारमा पुग्ने हुनाले काठमाडौंमा मूल्यवृद्धि भएको बताएका छन्। व्यवसायी खोमप्रसाद घिमिरेले ललितपुर, भक्तपुर, चावहिल, थर्पु, नुवाकोटबाट आउने तरकारी काठमाडौंसँगै बाहिर पनि जाने हुनाले यहाँ सामान्य मूल्यवृद्धि भएको बताए। 'पछिल्लोपटक विशेषगरी गोलभेडा बाहिर गइरहेको छ, त्यसैले गोलभेडाको मूल्य बढेको हो, केही मौसमी तरकारीको मूल्य भने महिनैपिच्छे बढ्छ,' उनले भने।
बिनाकारण मूल्यवृद्धि गरेर कालोबजारी गर्ने व्यवसायीलाई सरकारले कारबाही गर्ने वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद बिडारी बताउँछन्। 'जथाभावी मूल्य तोकेर उपभोक्ता ठग्न पाइँदैन, त्यस्ता व्यवसायीविरुद्ध उजुरी परे वा हामीले अनुगमन गर्दा फेला परे कारबाही हुन्छ,' उनले भने।

काठमाडौंमा एक महिनाको तरकारी तथा फलफूलको मूल्य (केजीमा)
तरकारी                                        २०७० असार २                           २०७० साउन २
गोलभेडा ठूलो                                 ३७.५०                                       ८५.००
गोलभेडा सानो                                २९                                             ४९.२०
आलु रातो                                      २०.५०                                       २३.५०
आलु सेतो                                     १५.५०                                        २८.५०
प्याज                                          २९                                               ४९
गाँजर                                         ३२.५०                                           ४७.५०
बन्दा                                          ८                                                 १५
काउली                                        ३२.५०                                          ५५
भिन्डी                                         १७                                              ४२.५०
तितेकरेला                                   १५                                                ४२.५०
अदुवा                                         १४५                                              १७५
आँप                                          ५५                                                ७५
खरबुजा                                      १६                                                 ४७.५०
(स्रोतः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति)

पोखरमा पनि तरकारीको मूल्य छोइनसक्नु

महिना दिनअघि पोखरामा गोलभेडाको मूल्य प्रतिकिलो ६० रुपैयाँ थियो। अहिले ८० रुपैयाँ पर्छ। ६० रुपैयाँ प्रतिकिलोको काउली ८० रुपैयाँमा उक्लेको छ। ५० मा पाइने बोडी, सिमी बढेर ७० रुपैयाँ पुगेको छ। एक सय २० रुपैयाँमा पाइने भेडे खुर्सानीको मूल्य १ सय ८० रुपैयाँ पुगेको छ।
पोखरामा तरकारीको मूल्य वृद्धिको यो एउटा उदाहरण मात्र हो। एक महिनाको अन्तरमा सबैजसो तरकारीको मूल्य छोइनसक्नु भएको उपभोक्ताको गुनासो छ। प्रतिकिलो तरकारीको खुद्रामूल्य १० देखि ६० रुपैयाँसम्म बढेको तरकारी व्यवसायीले बताए।
तरकारी थोक बिक्रीस्थल कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष रामकृष्ण दुवाडीले एक महिनाको अन्तरमा हरियो तरकारीको मूल्य निकै बढेको बताए। 'प्रतिकिलो कम्तीमा १० देखि बढीमा ६० रुपैयाँसम्म मूल्य बढेको छ, यो बढी नै हो,' दुवाडीले नागरिकसँग भने, 'तरकारीको मूल्य वृद्धिले उपभोक्ताको ढाडै सेकेको छ।' मौसमी तथा बेमौसमी सबैखाले तरकारीको मूल्य अघिल्लो सिजनको तुलानामा अहिले अकासिएको उनको भनाइ छ।
अध्यक्ष दुवाडीका अनुसार तराईमा उत्पादन नभएर पहाडकोले मात्र धान्नुपर्दा मूल्य बढेको हो। 'वर्षा र बाढीले उत्पादन नभएपछि यो पटक पूर्वी र पश्चिम तराईबाट तरकारी आयात हुन पाएन, जसले गर्दा एक्कासि महँगियो,' उनले भने, 'पहाडको उत्पादनले माग धान्न नसक्दा नसक्दा मूल्य निकै माथि गयो।'
दुवाडी गोलभेडाको मूल्य प्रतिकिलो ५० रुपैयाँभन्दा माथि जानुलाई 'अत्यधिक' मान्छन्। पछिल्लो तीन वर्षयता यो सिजनमा पोखरामा गोलभेडाको मूल्य प्रतिकिलो ५० रुपैयाँभन्दा माथि पुगेको थिएन। तर यसपालि ८० रुपैयाँ पुगेको छ।
पछिल्लो समय सीमावर्ती भारतीय केही सहरका व्यापारीले नेपालको तरकारी भारत लैजान थालेकोले नेपालमा अभाव भएर मूल्य बढेको अध्यक्ष दुवाडीले बताए।
उनका अनुसार वर्षायाममा तराईमा तरकारी उत्पादन घट्छ। मूल्यवृद्धिमा यसको नि योगदान रहन्छ। 'तराईमा यतिखेर तरकारी उत्पादन हुँदैन, पहाडको सीमित तरकारीले सहरी माग धान्न सक्दैन,' उनले भने, 'स्थानीय उत्पादन पनि यतिबेला छैन।' पोखरामा धादिङ, काभ्रे, मकवानपुर, तनहुँलगायत स्थानबाट तरकारी आयात हुन्छ। बाहिरबाट ल्याउनुपर्दा कतिपय तरकारी कुहिएर बढी नोक्सान हुने हुँदा व्यापारीले खेरजाने तरकारीको समेत लागत उठ्ने गरी मूल्य राख्छन्। यसले पनि मूल्यमै दबाब दिन्छ।
कास्कीको उत्पादनले पोखराको करिब १० प्रतिशत माग मात्रै पूरा गर्ने उनले जानकारी दिए। सिजनमा स्थानीय उत्पादनले बढीमा २० प्रतिशतमात्र थेग्छ। 'यो बेला पोखराको माग पूरा गर्न करिब ९० प्रतिशत तरकारी आयात गर्नुपर्छ, स्थानीय उत्पादनले थेग्ने हो भने सस्तो हुन्थ्यो होला,' दुवाडीले भने। भदौ लागेपछि तरकारीको मूल्य केही घट्न सक्ने उनको अनुमान छ। पोखरामा दैनिक करिब ३० टन हरियो तरकारी खपत हुन्छ।
तरकारीको मूल्य वृद्धिले कम आयवर्गका उपभोक्तालाई सबैभन्दा बढी समस्या भएको उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिल कोइरालाले बताए। 'कर्मचारीको आधा तलब तरकारीमै खर्च हुने अवस्था छ,' कोइरालाले भने, 'यस्तो अवस्थामा बजार नियन्त्रणमा पहल गर्नुपर्छ।' बाहिरी जिल्लाबाट ल्याउँदा बाटोमा ठाउँठाउँमा अवैध कर असुली गर्नाले पनि तरकारीको मूल्य मास्तिर लागेको उनले बताए। 'कास्कीभित्रको अवैध कर हामी नियन्त्रण गर्न सक्छौं, तर बाहिरी जिल्लाको सकिँदैन, त्यसले पनि समस्या पारेको छ,' उनले भने।

तरकारीको मूल्य पोखरामा
२०७० जेठ अन्तिम साता
तरकारी मूल्य/प्रतिकिलो          
गोलभेडा ६०
काउली ६०
मुला ३०
बोडी ५०
सिमी ५०
काँक्रो ४०
करेला ३०
भेडे खुर्सानी १२०
बन्दा २५
खुर्सानी ६०

तरकारीको मूल्य
२०७० असार अन्तिम साता
तरकारी मुल्य/प्रतिकिलो
गोलभेडा ८०
काउली ८०
मुला ४०
बोडी ७०
सिमी ७०
काँक्रो ५०
करेला ४५
भेडे खुर्सानी १८०
बन्दा ४०
खुर्सानी १००
- नागरिकन्युज