कमल थापाको पार्टी फुट्यो, निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन नयाँ पार्टीको नाम- नेपाली राप्रपा, अध्यक्ष आजै तोकिने





२०७० पुष १५ गते
१५ पुस, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपाल विभाजित भएको छ । ४२ जना केन्द्रीय सदस्यमध्ये २० जनाले नयाँ दल दर्ताका लागि सोमबार निर्वाचन आयोगा निवेदन बुझाएपछि राप्रपा नेपाल औपचारिकरुपमा फुटेको हो ।
समानुपातिक तर्फको सभासद छनोट प्रक्रियामा असन्तुष्ट रहँदै आएका केन्द्रीय सदस्यहरुले अधिवक्ता तथा पार्टीका केन्द्रीय सदस्य वालकृष्ण न्यौपानेको नेतृत्वमा निर्वाचन आयोगमा समानुपातिक सभासदको सूची समान्य घोषित गर्न यसअघि निवेदन दिएका थिए । निवेदन दर्ता गराउन पुगेका नेताहरुमा राप्रपा नेपालका नेताहरु राजाराम श्रेष्ठ, टंक ढकाललगायतका रहेका छन् । समानुपातिक सभासद चयनबाट शुरू बिवाद विवाद सर्वोच्च अदालतमा पनि पुगिसकेको छ ।
विद्रोही नेता राजाराम श्रेष्ठले नयाँ दलको नाम ‘नेपाली राप्रपा’ राखिएको बताउनुभयो । अधिकांश केन्द्रीय सदस्यहरू राजधानी बाहिर रहेकाले सबैजना जुट्न नसकेको बताउँदै नेता श्रेष्ठले आफ्नो पक्षमा बहुमत रहेको दावी गर्नुभयो । आयोगमा दल दर्ताको औपचारिक प्रकृया पूरा गरेपछि आजै बस्ने बैठकले नयाँ पार्टीको केन्द्रीय अध्यक्ष चयन गर्ने नेता श्रेष्ठले जानकारी दिनुभयो ।
निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले राप्रपा नेपालको एउटा समूहले निर्वाचन आयोगमा केही बेरअघि निवेदन दर्ता गराएको अनलाइनखबरलाई बताउनुभयो । निर्वाचन अयाोगको प्रांगणबाहिर राप्रपा नेपालका कार्यकर्ताहरुको बाक्लो भींड रहेको प्रवक्ता राईले बताउनुभयो