मकवानपुर दुर्घटना : 'यस्तो शोक देख्‍न नपरोस्' (फोटो फिचर)





 आइतबार १६ कार्तिक, २०७१ बेनुपराज भट्टराई इलाम- 'शत्रुले पनि यस्तो भोग्न नपरोस्' मकवानपुर बस दुर्घटनामा सन्तान गुमाएका इलामेली अभिभावक हिजोदेखि भन्दैछन्,
'पढ्न पढाएका छोराछोरी दुर्घटनाले रगतपच्छे हुँदै मरेको देख्नुपर्यो।' इलामबाट राजधानी जाँदै गरेको ना५ख ४८४१ नम्बरको मेट्रो डिलक्स मकवानपुर बसामाडीमा विपरीत दिशाबाट आइरहेको शुभश्री डिलक्ससँग जुद्धा १० को मृत्युको भएको थियो। हिजो बिहान सवा २ को उक्त घटनामा ज्यान गुमाउनेमध्ये इलामका आठ थिए। इलाम नगरपालिकाकै पाँच जनाको मृत्यु भएपछि हिजोबाटै बजारवासी शोकमा छन्। आठमध्ये छ जना क्षमतायुक्त विद्यार्थी हुन्, जो जिल्लाबाट एसएलसी उत्तीर्ण गरी राजधानीका कलेज पढ्दैथिए।

 दसैं–तिहारमा घर आएका उनीहरु छुट्टी सकिएपछि अध्ययननिम्ति फर्किंदा दुर्घटना भएको थियो। मृत्यु भएकामध्ये इनपा–८, पिपलबोटेका रोशन भट्टराई, इनपा–६, तिल्केनीका प्रिजज दाहाल र नामसालिङका मिलन अधिकारीको स्थानीय माइखोलामा अन्त्येष्टि भइरहेको छ। मृतकका घरमा बिहानैदेखि शुभचिन्तक र आफन्तको घुइँचो छ। खोलामा तीनटा शव जल्दा धेरै स्तव्ध छन्। इनपा–४, गोलाखर्ककी इशा कार्की र बरबोटे
धारापानीका प्रवीण आचार्यको शव घर ल्याइँदैछ। 
'जन्मेपछि मान्छे मर्नु अनौठो होइन' पिपलबोटेमा धेरैका मुखबाट उस्तै आशयको थकथकी सुनिन्थ्यो, 'तर, एकैपल्ट यसरी धेरैजनाको दुःखद मृत्यु हुनु जीवनभर नबिर्सने पीडा हो।' इनपा–२, सिलिखानकी रक्षा श्रेष्ठ र भानुरत्नल टोलकी सुजाता काफ्ले तथा बरबोटेकै आश्था तोलाङ्गीको पनि मृत्यु भएको थियो। श्रेष्ठ, काफ्ले र तोलाङ्गीको शव इलाम नल्याई उतै अन्त्येष्टि गरिँदैछ। मकवानपुर बस दुर्घटनामा मृत्यु भएका इलाम नपा–६, तिल्केनीका प्रिजज दाहालको शव अन्त्येष्टि गर्नुअघि आइतवार भक्कानिँदै शोकाकुल आफन्तजन। मकवानपुर बस दुर्घटनामा मृत्यु भएका इलाम नपा–६, तिल्केनीका प्रिजज दाहालको शव हेर्दै गाउँले। दुर्घटनाको भोलिपल्ट आइतवार शव आइपुग्दा गाउँमा रुवावासी मच्चिएको थियो। दुर्घटनामा ज्यान गुमाएका १० मध्ये आठ इलामका छन्। 
त्यसमध्ये पाँच जनाको शव इलाममै अन्त्येष्टि गरिँदैछ। इलाम नपा–८, पिपलबोटेका रोशन भट्टराईको शव हेरेर आइतवार मर्माहत हुँदै गाउँले। मकवानपुर बस दुर्घटनामा मृत्यु भएका भट्टराईको इलाम माइखोलामा अन्त्येष्टि गरिँदैछ। मकवानपुर बस दुर्घटनामा मृत्यु भएकी इलाम नपा–४, गोलाखर्ककी इशा कार्कीकी आमा नैनकलालाई रुँघ्दै छिमेकी र आफन्त। छोरीको मृत्युले नैनकला शनिवार उज्यालो नहुँदैदेखि बेहोस छन्। इशाको शव अपरान्ह ४ बजेतिर मात्रै इलाम आइपुग्ने छ। दुर्घटनामा इलाम नपा–८, पिपलबोटेका रोशन भट्टराईको मृत्यु भएपछि घरमा शोकाकुल आफन्त। भट्टराईको स्थानीय माइखोलामा अन्त्येष्टि हुँदैछ दुर्घटनामा मृत्यु भएका इलाम नपा–६, तिल्केनीका प्रिजज दाहालको शव हेर्दै आफन्त। उनको स्थानीय माइखोलामा अन्त्येष्टि हुँदैछ।