बाँके कांग्रेसका सभापति डा. अरुण कोइरालाको दिल्लीमा निधन
मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालालाई भातृशोक परेको छ । कोइरालाका सहोदर भाइ नेपाली कांग्रेस बाँके जिल्ला कार्य समितिका सभापति अरुण कोइरालाको मंगलबार बिहान नयाँदिल्लीमा निधन भएको छ ।
करीव डेढ महिनादेखि निमोनियाबाट गम्भीर बिरामी परेका कोइरालाको उपचारका क्रममा दिल्लीमा निधन भएको प्रधानमन्त्री कोइरालाकी जनसम्पर्क सल्लाहकार मृदुला कोइरालाले अनलाइनखबरलाई जानकारी दिइन् ।
उनको फोक्सोले काम गर्न छाडेपछि दिल्लीको मेदान्त अस्पतालमा भर्ना गरिएको थियो । ७१ वर्षीय कोइरालाको उपचार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा सम्भव नभएपछि दिल्ली लगिएको थियो ।
चिकित्सा पेशा छाडेर राजनीतिमा लागेका डा. कोइराला ६ दाजुभाइ मध्ये काँहिला हुन् । प्रधानमन्त्री सुशील कोइराला साँहिला हुन् ।
कोइरालाको शव मंगलबारै नेपाल ल्याउने तयारी भइरहेको नेपाल पत्रकार महासंघका पूर्वमहासचिव पोषण केसीले जानकारी दिए ।
पशुपति आर्यघाटमा मंगलबारै दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
स्वर्गीय कोइरालाका श्रीमती, एक छोरी र एक छोरा छन् । कोइरालाकी श्रीमती किरण नेपाल महिला संघ बाँकेकी अध्यक्ष हुन् ।