गजब भयो जनकपुरमा !

 राजकरण महतो महोत्तरी । सामान्यतः मधेशी समुदायमा अन्तरजातीय विवाहलाई स्वीकार गरिंदैन ।
तर, जनकपुरमा भने यस्ता सबै सामाजिक प्रतिवन्धलाई चिर्दै बाजागाजासहित एक जोडीको अन्तरजातीय विवाह भएको छ । जनकपुर नगरपालिका २ का २३ बर्षीय दिनेश मण्डल (खत्वे) र धनुषाको सखुवा महेन्द्रनगर ३ मा घर भई क्षिरेश्वर नगरपालिका ५ बस्ने २० बर्षीया राजनन्दनी रौनियार (साह) का परिवाजनले दुवै जनाको अन्तरजातिय प्रेमविवाह गराई दिएका छन् । दिनेशको घर जनकपुर भए पनि उनी सानै उमेरदेखि मावली हजुरवुवाको घर महेन्द्रनगरमा बस्दै आएका छन् । महेन्द्रनगरको एक साइबरमा कम्प्यूटर सिक्ने क्रममा यी दुईको भेटघाट भएपछि दुई बर्षअघि एक अर्काको नजिक आएका थिए । लामो समयदेखि एक अर्कालाई मनपराए परिवारजनले नमान्दा दिनेश र राजनन्दनीले वैवाहिक बन्धनमा बाँधिन घरबाट भाग्नु पर्यो, २०७१ साल कात्तिक १२ गते बुधबार । सझियाँ घाटमा छठपूजा गर्न दिनेश र राजनन्दनीका परिवारजनहरू गएको मौका छोपेर यो जोडी घरबाट भाग्यो । र, दिनेश राजनन्दनीलाई लिएर आफ्ना मित्रको घर महोत्तरीको विजलपुरा पुगे । यो जोडी गाउँबाट भागेको हल्ला सखुवा महेन्द्रनगरभरि फैलियो । अनि सुरू भयो, दिनेश र राजनन्दनीको खोजतलास । राजनन्दनीको खोजी गरिदिन उनका दाजु संजयकुमार साह (रौनीयार)ले इलाका प्रहरी कार्यालय सखुवा महेन्द्ररनगर र इलाका प्रहरी कार्यालय बर्दिवासमा उजुरी दर्ता गराए । उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बर्दिवासले दिनेश र राजनन्दनीलाई १४ दिनको अन्तरालपछि पत्ता लगाउन सफल भयो । यो जोडीलाई महोत्तरीको विजलपुरा ९ स्थित शिवशंकर साहको घरबाट प्रहरीले कात्तिक २६ गते इलाका प्रहरी कार्यालय बर्दिवासमा झिकायो । प्रहरीमा यो जोडीलाई झिकाएपछि सुरू भयो, राजनन्दनी र दिनेशको सपनालाई सिसा झै चक्नाचुर पार्ने प्रयास । कात्तिक २६ गते विहानदेखि राजनन्दनी र दिनेशको सम्बन्धलाई टुक्रयाउन ८ घण्टासम्म लगातार राजनन्दनीका माइतीपक्षले कोसिस गरे तर सकेनन् । राजनन्दनीले भनिन्, ‘मलाई दिनेशसँग छुटाइयो भने म बाँच्दिनँ ।’ पटक–पटक राजनन्दनीले यस्तो भनेपछि अन्ततः दिनेशका हजुरवुवा सुरेश मण्डल र राजनन्दनीका दाई संजयकुमार साह ( रौनियार) को रोहवरमा विवाह गराई दिन दुवै पक्ष सहमत भएकोे इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक चन्देश्वर यादवले बताए । दुवै पक्षका मान्यजन र गाउँका वुद्धिजीविहरू दुवैको विवाह गराई दिन सहमत भए । त्यसपछि प्रहरी कार्यालयमा कागज गराई प्रहरीले दुबैलाई अभिभावकको जिम्मा लगायो । सामाजिक रूपमा दुबैको विवाह भइसकेको छ । कानुनी रूपमा जिल्ला अदालत धनुषामा विवाह गर्ने तयारी भएको छ । बाजागाजासहित दिनेश र राजनन्दनीको विवाह भएको छ । जनकपुरको विवाहमण्डपमा दुवै परिवारले उनीहरूलाई प्रणयसूत्रमा बाँधी दिएका छन् । अन्तरजातीय विवाह मधेसी समुदायका लागि अस्वीकार्य रहेकै बेला जनकपुरको विवाहमण्डपमा दुबै पक्षका परिवारजनले यस्तो विवाह गराएर नयाँ परम्पराको थालनी गरेका छन् ।