प्रेमका नाममा कतै हत्या कतै आत्महत्या, २२ मंसिर, काठमाडौं । मोरङको बेलबारी निवासी सामान्य परिवारका ताराजून राईले प्रेमवियोगको पीडि सहन नसकेर आफ्नोमात्रै इहलीला समाप्त पारेनन्, प्रेमले हुर्काएका कोपिलाजस्तै दुईजना लालाबाला समेत झुण्ड्याए । यता राजधानीमा चाँहि कान्तिपुर कलेजमा बीबीएस अध्ययनरत छात्रा रीतु महासेठले प्रेम गर्न नमानेको र धोका दिएको भन्दै एक अज्ञात पागल प्रेमीले उनलाई छुरा रोपेर विभत्स हत्या गरे । यो प्रेम भन्ने चिज कस्तो हो, जसले मान्छेलाई बाँच्न सिकाउँछ । मर्न सिकाउँछ र मार्न पनि सिकाउँछ ? अनि वयस्कहरुको प्रेमको कोपभाजनमा बेलबारीका ती अवोध वालवालिकाको के दोष थियो ? जबकि उनीहरुले यो संसारमा बाँच्ने अधिकार पाएनन् । खोटाङको सावा बाप्लुखा स्थायी घर भएका ३६ वर्षीय ताराजून राई बेलबारीमा सामान्य मजदुरी गरेर बस्थे । उनका साथमा पत्नी तारा राई र दुई छोराछोरी थिए । बूढा भइसकेका बुबा आमा पनि बेलबारीमै बसोबास गर्थे । झापाबाट प्रेम गरेर ०६५ सालमा भित्र्याएकी पत्नी मंसिर ११ गतेदेखि हराएपछि ताराजूनले पत्नीवियोग खप्न नसकेर आइतबार लोहन्द्रा खोलाको डिलमा दुई छोराछोरीसहित आत्महत्या गरेका गरे । तीनैजनाको एकसाथ सदगति गर्दा बेलबारीबासीहरु शोकले विह्वल बने । पत्नी र बेलबारीमा एक पुरुष दुबै हराएपछि आफ्नी श्रीमती ‘पोइल गएको’ ताराजूनको अनुमान थियो । उनका पिताले जनाए अनुसार उनी त्यही दिनदेखि झोक्राएर बस्न थालेका थिए । आइतबार बिहानै उनले आफ्ना छोराछोरीलाई उठाएर लोहोन्द्रा खोला नजिकै माछापोखरी रुङ्न बनाइएको टहरोमा ल्याए । घटनाक्रम हेर्दा शुरुमा उनले छोराछोरीलाई डोरीको पासोमा झुण्ड्याए । त्यसपछि उनले सोही टहरोमा डोरीको पासो लगाई आत्महत्या गरे । कोठामा बिहानै उठेर हजुरआमाले नाति नातिना हेर्न खोज्दा नभेटेपछि तीनै जना गायव भएको पत्तो लागेको थियो । पछि खोज्दै जाँदा तीनैजना झुण्डिएको अवस्थामा फेला परेका थिए । ताराजूनका घुँडा भुईमा दोबि्रएका थिए । चरम गरिबीको पीडामा रहेका ताराजूनले आफूमात्रै मर्दा छोराछोरीको बिजोग हुने देखेर हुनसक्छ, कलिला छोराछोरीलाई पनि साथै लगेका हुन् । तर, देशमा बढिरहेको आत्महत्याको घटनासँगै बेलबारीमा भएको यो कहालीलाग्दो घटनामा गरीवीमात्रै कारक रहेको छैन, यसमा प्रेमवियोग समेत जोडिएको छ ।
रीतु महासेठ

प्रेमका नाममा अपराध
मोरङमा पत्नीको विछोडका कारण बालबच्चासहित ताराजून राईले आत्महत्या गरे भने राजधानीमा आँहि शनिबार एक व्यक्तिले प्रेम शब्दमै अपमान र बदनामी हुने गरी रीतु महासेठमाथि छुरा प्रहार गरेर, जसका कारण रीतुको निधन भयो । प्रेमका नाममा अपराध गर्ने अपराधीलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । आफूले चाहेकी केटीसँग विवाह गर्न नपाउँदा उसलाई तेजाब खन्याउने, बदनाम गर्ने र हत्यासम्म गर्नपछि नपर्ने यस्ता घटना पुरुष समुदायमा यदाकदा देखा पर्ने गरेका छन् । विभिन्न कारणले नेपालमा आत्महत्या बढ्दो छ । यसमा महिला भन्दा पुरुषहरुले बढी आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको छ । ताराजून राई पनि यसैका पछिल्लो उदाहरण बन्न पुगेका छन् । तर, भारतमा राष्ट्रिय रोग बनिसकेको आत्महत्या नेपालमा बिन बढिरहेको छ ? यसमा निदान गरी समास्या समाधान गर्नेतिर राज्यको बेलैमा ध्यान जानु पर्ने देखिन्छ । अर्कोतर्फ प्रेममा विछोड हुँदा वा आफूले चाहेको व्यक्तिलाई प्राप्त गर्न नसक्दा हत्यासम्म गर्ने आपराधिक सामन्ती संस्कारबाट पनि नेपाली समाजलाई मुक्त गर्न जरुरी छ भन्ने कुरा प्रेमका नाममा बलिदान दिन बाध्य रीतु महासेठजस्ता निर्दोष नेपाली चेलीको हत्याले हामीलाई पाठ पढाएको छ ।