महिलालाई अस्थायी साधनको जिम्मा लिन भनेपछि सरकार विवादमा



जागिर खोज्ने केटीहरुका लागि अन्तरवार्ताका हावादारी टिप्स दिएर विवादमा तानिएको दक्षिण कोरिया सरकार फेरि अस्थायी साधन सम्बन्धि सल्लाहका कारण विवादमा परेको छ । दक्षिण कोरियाको स्वास्थ्य तथा जनकल्याण मन्त्रालयले तयार गरेको चेतनामूलक पोस्टरका कारण विवाद बढेको हो । सरकारले तयार पारेको उक्त पोस्टरमा अनिच्छित गर्भ रोक्नका लागि अस्थायी साधन प्रयोगको जिम्मेवारी आफुले लिन र त्यो जिम्मेवारी पुरुषमा नपन्छाउन सल्लाह दिइएको छ । यो पोष्टरमा एक जोडी युवायुवती सपिङ गरेपछि खुसी मूडमा घर फर्किने तयारीमा छन् । जोडीमध्ये युवतीले केहीपनि बोकेकी छैनिन् तर युवकले गधाले जस्तै भारी बोकेका देखिन्छन् । उनले हातभरी सपिङ ब्याग र काँधमा युवतीको गुलावी ब्याग भिरेका छन् । पोष्टरमा भनिएको छ, ‘यद्यपि तपाइँले सबै चिज मानिसलाई छोड्न सक्नुहुन्छ, तथापि गर्भनिरोधक साधनको प्रयोगको जिम्मेवराी भने उनीहरुमा नछाड्नुहोस् ।’ सरकारको यस्तो सन्देशप्रति महिला र पुरुष दुबैले सोसल मिडियामा कडा आलोचना गरेका छन् । यसले महिलालाई स्वार्थी तथा परनिर्भर देखाउन खोजेको महिलाहरुको आरोप छ । पुरुषहरु पनि यो सरकारी सन्देशमा खुसी छैनन् । यो पोष्टरले पुरुषहरुलाई महिलाको नोकर जस्तो देखाउन खोजेको र यो अविस्वसनीय पोष्टर रहेको भन्दै आलोचना गरेका छन् । निकै तिब्र आलोचना भएपछि स्वास्थ्य मन्त्रालयले यो पोष्टरलाई आफ्नो सोसल मिडिया साइटबाट हटाएको छ । गर्भ फ्याँक्ने कामलाई रोक्नको लागि मानिसहरुलाई गर्भनिरोधक साधनको प्रयोगमा प्रोत्साहन गर्ने अभिप्रायका साथ यस्तो पोस्टर तयार गरिएको भएपनि मानिसहरुको प्रतिक्रिया यसको विरुद्धमा गएको मन्त्रालयले जनाएको छ । कोरियाको महिलावादी समूह कोरियन उमनलिंकले पनि सरकारको विभेदकारी पोस्टरको विरोध गरेको कोरियन टाइम्सले जनाएको छ ।