‘मैले मान्छे मारेको छु, मलाई थुन्नुस’ भन्दै कारागारमा आए हरि




“उसलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा साँच्चिकै मान्छे मारेर आएको पुष्टि भयो,” कारागारका सुरक्षा प्रमुख सई कार्कीले भने ।

२६ वर्षीय हरिले २७ मंसीर दिउँसो १ वजे स्थानीय गान्धिप लावतीको हत्या गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

प्रहरीलाई दिएको बयानमा उनले गान्धिपको टाउको, घाँटी र छातीमा खुकुरी प्रहार गरी हत्या गरेको बताएका छन् । उनले आफूमाथि गान्धिप र उनका दाजुले अन्याय गरेकाले आवेशमा आई हत्या गरेको पनि बताएका छन् ।

“छिमेकी रानीगाँउ गाविसकी बोली नआउने महिलासँग पटक–पटक यौनसम्पर्क गरेपछि सामाजिक लाञ्छनाबाट बच्न उनीहरुले ती महिलासँग मेरो सम्पर्क रहेको भनेर जवरजस्ती जिम्मा लगाउने प्रयास गरे,” हरिको आरोप छ ।

“उनीहरुले ती महिलामाथि पटक–पटक अत्याचार गरेका छन् र घटना सार्वजनिक भएपछि मेरो नाम पोले,” हरिले भने, “मैले अहिलेसम्म नछोएकी महिला मलाई जवरजस्ती जिम्मा लगाउन खोजेपछि उनको हत्या गरें ।” उनले गान्धिपका दाजु–भाइकै हत्या गर्ने मनसायले खुकुरी लिएर हिंडेको भए पनि दाजु भने नभेटिएको बताए ।

मान्छे मारेपछि जाने ठाँउ कारागार हो भन्ने थाहा पाएकोले आफू गान्धिपको हत्यापछि कारागार पुगेको हरिले बयान दिएका छन् ।

प्रारम्भिक अनुसन्धानबाट गान्धिपको हत्या हरिले नै गरेको प्रमाण फेला पारेको पाँचथरका प्रहरी प्रमुख दीपक पोखरेलको भनाई छ ।

उनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ ।
लक्ष्मी गौतम, पाँचथर, हिमाल खबर