धाँधलीको नाटकले पनि प्रचण्डलाई पद जोगाउन मुस्किल, बाबुराम र काजी एकमुख






२०७० पुष १ गते , काठमाडौं । संविधानसभा निर्वाचनमा अदृश्य धाँधलीको कथा रचेर आफ्नो पद जोगाउन खोजेका एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डमाथि पदबाट राजीनामा दिन तीब्र दबाब परेको छ । हारको नैतिक जिम्मेवारी लिएर बिगतमा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले जस्तै नैतिकताका आधारमा राजीनामा दिनुपर्नेमा धाँधलीको कथा रचेर पद जोगाउन खोज्नुनै प्रचण्डको नैतिक पतनको अर्को कारण बन्यो ।
अन्ततः उनीपछिको दोस्रो बरियताका नेता बाबुराम भट्टराई र तेस्रो बरियताका नेता नारायणकाजी श्रेष्ठसमेत उनको राजीनामा माग्ने अवस्थामा पुगेपछि प्रचण्ड थप संकटमा परेको सोमबार प्रकाशित साँघु साप्ताहिकलेछापेको छ ।
अघिल्लो संविधानसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी दुईसय २३ सिट जितेको एमाओवादी यसपटक ८० सिटमा सीमित भयो । एमाओवादीको अहिलेको आकार २०४८ सालको आम निर्वाचनमा तत्कालीन संयुक्त जनमोर्चाकै हैसियतमा पुगेपछि प्रचण्डको नेतृत्वमा प्रश्न उठेको हो । बाबुराम भट्टराईले घुमाउरो ढंगले प्रचण्डको राजीनामा मात्र मागेका छैनन, अब आफ्नो नीति लागू गर्न नेतृत्व पनि पाउनेपर्ने दाबी गरेका छन् । ‘मसँग आफ्नै योजना र नीतिलाई लागू गर्ने आवश्यक इच्छा शक्ति र संगठनात्मक तागत रहेन,’ भनेर बाबुराम भट्टराईले नेतृत्व दावी गरेका छन् ।
वास्तवमा शान्ति र संविधानको नीति एमाओवादीभित्र बाबुरामको नीति थियो । बाबुरामको नीति र प्रचण्डको नेतृत्वमा तालमेल नमिलेकै कारण पार्टीले नराम्रो पराजयको अवस्थामा आइपुगेको बाबुराम निकट नेताहरु बताउँछन् ।
‘वास्तवमा जसको नीति उसकै नेतृत्व हुनुपर्ने हो, तर हाम्रो पार्टीमा बिल्कुल फरक अवस्था आयो । लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र र अहिलेको राजनीतिक लाइनको नीति बाबुरामको हो । तर, त्यो नीति लागू गर्ने नेतृत्व प्रचण्डमा रह्यो’ बाबुराम निकट केन्द्रीय सदस्य गंगानारायण श्रेष्ठ भन्छन्, ‘जसको नीति उसकै नेतृत्व भएको थियो भने संविधानसभाको दोस्रो निर्वाचन नर्गुपर्ने थिएन् । गैरदलीय सरकार बन्नुपर्ने थिएन र अहिले पार्टी यो ढंगबाट पत्तासाफ हुने पनि थिएन् ।
बाबुराम भट्टराईले आफ्नै नेतृत्वमा चुनाव गराउन खोज्दा प्रचण्डले नदिएको, नारायणकाजी श्रेष्ठले सुशील कोइलाराको नेतृत्वमा सर्वदलीय सरकार बनाएर चुनावमा जाउँभन्दा पनि प्रचण्डले नदिएको र प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाएर जानु घातक हुन्छ भनेर बाबुराम, नारायणकाजी दुवैजनाले भन्दा पनि प्रचण्डले नमानेको कुरा अब एमाओवादी केन्द्रीय समितिको बैंठकमा प्रवेश हुने भएको छ ।
मतपेटिका साटेर अदृश्य धाँधली भयो भनिए पनि वास्तवमा अवस्था अर्कै देखिएको राज्य समितिहरुको समीक्षा बैठकपछि पुष्टि भएको छ । ‘केहि निर्वाचन क्षेत्रहरुमा धाँधलीको सम्भावना देखिए पनि अधिकांश ठाउँमा आन्तरिक कारणले हारेको रिर्पोट आएको छ । पार्टी शून्यबाट पुनर्गठन हुनुपर्ने देखिएको छ,’ एकजना राज्य समितिका इन्चार्जले भने, ‘अध्यक्ष प्रचण्डले तत्कालका लागि धाँधलीको कुरा उठाएर आफ्नो कुर्सी जोगाउने कोसिस गरेपनि त्यसले पार्टीलाई दीर्घकालसम्म हानी गर्ने खतरा छ ।’
पुस ९ गतेको केन्द्रीय समिति बैठकमा आफूमाथि तीब्र प्रहार हुने र राजीनामा मागिने सम्भावना देखिएपछि प्रचण्डले आफ्नो परम्परागत स्वभाव अनुसार पार्टीभित्र फुटाउने टुटाउने र मिलाउने खेल थालिसकेका छन् । आफूमाथिको सम्भावित प्रहार रोक्न पहिलो चरणमा बाबुराम र नारायणकाजीमाथि दबाब पार्ने र त्यसो गर्दा सम्भव नभए दुईजनाबीच झगडा पारेर फेरि आफू निर्विकल्प नेताका रुपमा केन्द्रीय समितिमा प्रस्तुत गराउने खेल उनले थालिसकेका छन् । बाबुराम र नारायणकाजी आफू विरुद्ध खनिने भएपछि प्रचण्डले फेरि नेकपा-माओवादीका अध्यक्ष बैद्यसँग साउती मार्न थालेको सोमबार प्रकाशित साँघु साप्ताहिकमा खबर छ ।