रेखा थापा सूचिमै अटाइनन्: १४ फिल्म कलाकार एमाओवादीबाट सिफारिस सभासद्का लागि


सभासदका लागि एनेकपा माओवादीले १४ सिनेमा कलाकारलाई उम्मेदवारका लागि सिफारिस गरेको छ । सूचिमा उम्मेदवारको रुपमा मिडियामा चर्चा बटुलेकी अभिनेत्री रेखा थापा अटाएकी छैनन् ।

माओवादीको अखिल नेपाल जनसांस्कृतिक महासंघले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सो नाम सिफारिस गरेको हो । सो सूचिमा फिल्म, संगीत र नाटकका ठूला नाम छन् ।

सिफारिस हुनेहरुमा अभिनेत्री मौसमी मल्ल (काठमाडौंबाट), चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष गणेश भण्डारी (सुर्खेत), अभिनेता राजेन्द्र खड्गी (काठमाडौं), निर्देशक केपी पाठक (काठमाडौं), निर्माता शिवजी लामिछाने (कास्की)बाट छन् ।

निर्माता संघका उपाध्यक्ष उदय सुब्बा (झापा), दीपक श्रेष्ठ (सुनसरी), निर्देशक विजय बस्नेत (महोत्तरी), निर्देशक राजु केसी (मकवानपुर), लक्ष्मण शेष र चेतन सापकोटा (मकवानपुर), संगीतकार धीरेन्द्र प्रेमर्षी (सिरहा) सिफारिस भएका छन् ।

अभिनेत्री रेखा थापालाई अहिलेसम्म पार्टीले कुनै जिल्लाबाट पनि सिफारिस गरेको छैन । काठमाडौंबाट उनको नाम प्रत्यक्ष उम्मेदवारमा चर्चामा छ तर, पुष्टि भैसकेको छैन । कांग्रेसले रोज राणा र मधुकुमार श्रेष्ठको नाम क्रमशः प्युठान र धादिङबाट सिफारिस गरेको छ ।