
१ असोज, काठमाडौ । भारतको मोतिहारी तथा नेपालको विभिन्न ठाउँबाट राम्रो जागिर लगाइदिन्छु भनी ललाईफकाई काठमाडौंमा ल्याएर बलजफ्ती यौन क्रियाकलापमा संलग्न गराउने रौतहट जिल्ला लक्ष्मीपुर–४ घर भई काठमाडौं महानगरपालिका–३४ बस्ने २८ वर्षीय अमिर्का महतो र बारा जिल्ला कचरवा–३ घर काठमाडौं महानगरपालिका–३४ बस्ने २५ वर्षीया रीता यादवलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–३४ मा रीता यादवले सञ्चालन गरेको होटलमा चेकजाँच गर्ने क्रममा उनीहरूले भारत मोतिहारी घर भएकी १२ वर्षीया बालिकालाई कुटपिट गरी बलपूर्वक यौन क्रियाकलापमा संलग्न गराउने गरेको र अन्य ४ जना महिलाहरूसमेत यौन क्रियाकलापमा संलग्न रहेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको थियो ।
सोमबार पक्राउ परेका उनीहरूलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ।