जुन खाडलले सभासद बनायो, त्यसैलाई भुलिन् गोल्छाले राज्यलक्ष्मीलाई पोलेन अपाङको आशुले





२०७० पुष १५ , मोरङ। समाजसेवी महिलाको पहिचान बनाएर नेकपा एमालेबाट समानुपातिक सभासद् बन्नुभएकी विराटनगरकी राज्यलक्ष्मी गोल्छाले मोरङको इटहरास्थित एक अपाङ्ग परिवारलाई दिएको खोक्रो आश्वासन उनीहरुले अहिलेसम्म बिर्सिएका छैनन् । राज्यलक्ष्मी सभासद बनेको सुनेपछि  उनीहरुको मनमा लागेको घाऊ झनै बल्झिएको छ ।
एकैघरका पाँच छोराछोरी अपाङ्ग भएका यो परिवारलाई दुई वर्षपहिले गोल्छाले दिएको आश्वासन र उनीहरुको घर नजिकै दुई वर्ष अघि खनिएको खाडल पनि अहिलेसम्म पुरिएको छैन । तर, त्यही खाडलले गोल्छालाई सभासद बनाएको छ ।
मोरङको इटहरा-७ सिकिक्मे टोलका एक दम्पति तुलसीराम ढुङ्गाना र सिर्जना ढुङ्गानालाई अपाङ्ग छोराछोरीका लागि पक्की घर बनाइदिन्छु भनेर राज्यलक्ष्मीले दुईवर्ष अघि आश्वासन दिनुभएको थियो । ढुङ्गानाका पाचँजना छोराछोरी अपाङ्ग छन् ।
ढुङ्गाना परिवारका २ छोरा र ३ छोरी अपाङ्ग हुन् । यसरी अपाङ्ग हुनेमा ३६ बर्षीया निर्मला, ३४ वर्षीय निर्मल, ३० वर्षीय उमेश, २१ वर्षीया पार्वता र १९ वर्षीया गोमा रहेका छन् । जे भेट्यो, त्यही खाने, गाईवस्तुलाई पकाएको खोले खाने, पोखाइदिने, जहा बस्यो त्यही दिशा पिसाब गर्ने, त्यही दिशासग खेल्ने र खाने समेत गरेको आमा सिर्जनाले बताउनुभयो ।
‘अपाङ्ग छोराछोरी हेर्नुपर्ने दायित्वले गर्दा आफ्नो १० कठ्ठा जमीनको खेती गर्नसमेत फुर्सद छैन, उहाँले भावुक हुदै भन्नुभयो, ‘यो १० कठ्ठा जमीनले पनि खान लाउन मुस्किल छ, छोराछोरीका कारण खेतीपातीमा समस्या भएकाले खेत अधिंया दिएको छ ।
ढुङ्गाना दम्पतीमध्ये तुलसीराम ६६ वर्ष पुग्नुभएको छ भने सिर्जना ४६ । शरीरमा बल हराइसकेको सुनाउँदै तुलसीरामले भन्नुभयो, ‘म चिनी रोग र टिबी पीडित हु, मेरी पत्नीको पाठेघरको अप्रेशन भएको छ । हामीलाई यी छोराछोरी सम्हाल्न गाह्रो भयो ।’
‘तपाईंका पाँचैजना सन्तान सुस्त मनस्थिति भएको देख्दा ज्यादै दुःख लाग्यो, म तपाईंहरुलाई के सहयोग गर्न सक्छु भनेर राज्यलक्ष्मीले सोध्नुभयो,’ आमा सिर्जनाले भन्नुभयो, ‘छोराछोरीलाई अपाङ्गमैत्री घरको आवश्यक छ भनिदिए, उहाँले पनि बनाइदिने वचन दिनुभयो ।’
गोल्छाद्वारा ०६८ साल फागुन ७ गते साइत हेराई घरको शिलान्यास समेत गरी खाडलसमेत खन्ने काम भएको थियो, ‘तर २ वर्ष बित्यो, उहाँ सम्पर्कमा आउनुभएन, सिर्जनाले भन्नुभयो, खनेका खाल्डाहरु पनि त्यसै छन्, अहिले त उहाँ एकाएक सभासद पो बनेको सुनियो ।’
त्यसबेला अपाङ्ग परिवारलाई घर बनाइदिने भनेर सञ्चार माध्यममा गोल्छा खुबै छाउनुभएको थियो । केही पत्रपत्रिकामा उदाहरणीय राज्यलक्ष्मी गोल्छा भनेर सम्पादकीय समेत लेखियो र त्यसैका आधारमा समाजसेवी भन्दै उहाँ सभासद बन्न सफल हुनुभयो । ‘रेडियोले पनि भन्यो, पत्रपत्रिका र टिभीमा पनि आयो रे’, सिर्जनाले भन्नुभयो, वचन पूरा गर्न नसक्नेले किन आश नदेखाउनु ?’
‘गरिवलाई दिन्छु नभन्नु’ भन्ने उखान ढुङ्गाना परिवारमा चरितार्थ भएको छ । आर्थिक समस्याका कारण उनीहरु बसेको काठको घर पुरानो भएर मक्किएको छ । छानो पनि चुहिने गरेको सिर्जनाले बताउनुभयो । ‘घर मर्मत गर्न सुको आउने बाटो छैन, छोराछोरी अपाङ्ग भए, गोल्छाजस्तै मान्छे आउँछन् र बाचा पूरा नगरी घाउमाथि नुन चूक छर्किन्छन् ।’
गोल्छाले सस्तो लोकप्रियताका लागि घर बनाइदिने आश्वासन दिएको भन्दै पीडितका बाबु तुलसीराम ढुङ्गानाले भन्नुभयो- अब त सभासद पनि हुनुभएको छ, आफैंले घर नबनाए पनि हाम्रो पींडा ठाउँमा पोखिदिए पनि हुने ।