बाबुरामलाई सम्वाद समिति सभापतिबाट हटाउन प्रचण्डको चुनौती

राजनीतिक सम्वाद समितिको बैठकपछि सञ्चारकर्मीहरुसाग कुरा गर्दै
एमाओवादी अध्यक्ष प्रचण्ड । तस्वीर: रासस २८ कात्तिक, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईलाई हटाएर देखाउन चुनौती दिएका छन् । तीन दलबीच सहमति हुन नसकेपछि सम्वाद समितिको बैठकमा कांग्रेस एमाले र एमाओवादी कडा रुपमा प्रस्तुत भएका छन् । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले आफूहरुको साझा प्रस्ताव जस्तोको तस्तै संविधानसभामा लैजान माग गरे । लगतै बोलेका प्रचण्डले सभापति भट्टराईलाई हटाउन चुनौती दिए । बैठकबाट बाहिरिने क्रममा उनले भने-‘तपाईहरु सक्नुहुन्छ भने बाबुरामजीलाई सभापतिबाट हटाएर आफ्नो सभापति राख्नुस् र आफ्नो प्रस्ताव लैजानुस् ।’ आफूहरुले थप सहमतिको प्रयास गरौं भन्दा कांग्रेस र एमालेले आफ्नो प्रस्ताव लैजान खोजेको भन्दै उनले दलहरुबीच जति छलफल गर्‍यो त्यति शंका बढेको बताए । उनले बहुमतको आडमा बल मिच्याइ गरे देश द्वन्द्वमा जाने बताए । आफूहरुले पाँच दिन समय थपेर प्रयास गरौं भन्दा नमानेको भन्दै उनले कांग्रेस-एमालेले सहमति र संविधान बनाउने पक्षमा छैन भन्ने आशंका लागेको बताए ।