कांग्रेसको शैली अझै निरंकुश : नेविसंघ नेता
भन्छन्– सात वर्षसम्म महाधिवेशन नगराउने पार्टी नेतृत्वविरुद्ध बालुवाटार र सानेपा घेर्छौं, आमरण अनशन बस्छौं
काठमाडौं । नेपाल विद्यार्थी संघको महाधिवेशन पटक–पटक तोक्ने अनि अन्तिम समयमा स्थगित गर्ने क्रम बढेपछि विद्यार्थी नेताहरू माउपार्टी नेपाली कांग्रेसविरुद्ध क्रूद्ध बनेका छन् ।
पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका विद्यार्थी नेताहरूको कात्तिक २८ गते बसेको बैठकले सात वर्षसम्म पनि संघको महाधिवेशन गर्न नसक्ने कांग्रेसविरुद्ध उत्रनुपर्ने निष्कर्ष निकालेको हो । विभिन्न बहानामा पार्टीले महाधिवेशन स्थगित गराउँदै आएको भन्दै उनीहरूले ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयका साथै कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालाको बालुवाटारस्थित सरकारी निवास घेर्ने अनि आमरण अनशन बस्ने चेतावनी दिएका छन् ।
संघको अध्यक्षका दाबेदारमध्येका नैनसिंह महरका अनुसार प्रतिनिधिहरू भेला भएर शनिबार आन्दोलन घोषणा गरिनेछ । आमरण अनशनका साथै पार्टीलाई असहयोगको आन्दोलन गरिनेछ ।
संघको अध्यक्षका दाबेदारमध्येका नैनसिंह महरले पटक–पटक महाधिवेशन स्थगित गर्ने पार्टी नेतृत्वविरुद्ध आन्दोलन गर्ने बताए । उनका अनुसार कात्तिक २९ गते प्रदर्शनीमार्गस्थित वाल्मिकी क्याम्पसमा प्रतिनिधिहरू भेला भएर आन्दोलन घोषणा गरिनेछ । आमरण अनशनका साथै पार्टीलाई असहयोगको आन्दोलन गरिने उनले बताए ।
‘जहिलेसम्म पार्टीले महाधिवेशन गर्दैन तबसम्म बालुवाटार र पार्टी कार्यालयमा आमरण अनशन बस्छौं’, उनले भने, ‘पार्टीले प्रजातान्त्रिक खोल ओढेको छ, निरंकुश शैली अझै छ ।’
उनले सार्क शिखर सम्मेलनमा आएका पाहुनासमक्ष पार्टीको पर्दाफास गर्ने चेतावनीसमेत दिए । ‘सार्कमा आएका विदेशी पाहुनालाई पार्टीको निरंकुश शैली प्रदर्शन गर्छौं’, उनले भने, ‘ताकि उनीहरूले पनि पार्टी महाधिवेशन नगरेर निरंकुश बनेको कुरा थाहा पाऊन् ।’
संघको आइतबारदेखि काठमाडौंमा हुने भनिएको महाधिवेशन कात्तिक २७ गते कांग्रेस पदाधिकारी बैठकले स्थगित गर्ने निर्णय गरेको थियो । सार्क शिखर सम्मेलनको तयारीलाई कारण देखाउँदै कांग्रेस विद्यार्थी संगठनको महाधिवेशन फेरि नगराएको हो ।