सहिदनगरको कोठीदेखि पुनरावेदन अदालतसम्मको कथा २८ कात्तिक, काठमाडौंं । बुधवार अपरान्ह मानव बेचबिखन विरुद्ध काम गर्ने एक गैरसरकारी संस्थामा पुग्दा शर्मिला श्रेष्ठ र विना विश्वकर्मा (दुवै नाम परिवर्तन) राहतको सास फेरिरहेका थिए ।
पीडाले भरिएको अतित बिर्सन खोज्दै उनीहरुको मुहारमा चमक झल्किएको थियो । कारण, उनीहरुलाई बेचेर नरकमा पुर्याए,उनीहरुलाई अदालतले कडा सजाय तोकिसकेको छ । को थिए यिनलाई बेच्ने ? चेलीबेटी बेखबिखनको नाइके सिन्धुपाल्चोक बाँसखर्कको बजिरसिंह तामाङ र उसको टोलीका बेचबिखन नाइकेहरुलाई पुनरावेदन अदालत पाटनले कात्तिक १८ गते जिल्ला अदालतको फैसला सदर गर्दै सर्वश्व सहित १ सय ७० वर्ष जेल सजाय अनुमोदन गरेको थियो । जिल्ला अदालतले सुकमान दोङ, दावा तामाङ, केटवहादुर विक, काइली विकलाई मतियारमात्र भनेको थियो, तर पुनरावेदनले उनीहरुलाई पनि मुख्य अपराधीनै ठहर गरेर सजाय तोकेपछि शर्मिला र बिनाले बिगतका सारा दुःख भुलेर सन्तोष सास फेर्दै थिए । ‘यिनीहरुलाई पूरै सजाय नतोकिदासम्म हामीलाई कुनै पनि बेला खतरा थियो, तर अब मुख्य अपराधीहरुले सजाय पाएका छन्, हामीले न्यायको सास फेर्न पायौं’ उनीहरुले भने । बजिर समूहबाट बेचबिखनमा परेका यी दुई युवतीले अनलाइनखबरसँग सिन्धुपाल्चोकदेखि आग्राको सहिदनगरसम्मको कहालीलाग्दो नरकयात्राको विवरण सुनाउँदै भने ‘यी अपराधीमाथिको सजायले चेली बेच्ने गिरोहका अन्य मान्छेलाई पनि डर पलाएको होला ।’ तर, उनीहरुलाई सिन्धुपाल्चोकको गाउँबाट फकाएर आग्राको कोठीमा बेच्ने दलाल गिरोहका दावा तामाङ र काइली विक अझै पक्राउ परेका छैनन् । पक्राउ गर्न चासो नदिइएको उनीहरुको गुनासो छ । कसरी बेचिइन् शर्मिला ? दलालले बेच्ने बेला १३ वर्षकी थिइन् शर्मिला । गाउँको स्कूलमा ७ कक्षामा पढ्दै थिइन् । घरको आर्थिक अवस्थाले पढ्न सक्ने अवस्था थिएन । यो सबै चाल पाएको सुकमान दोङ उनको घरमा मामाघरको नाता लगाउँदै जान थाल्यो । सुकमानले दिल्लीमा हिँड, जागिर खाँदै पढ्न पाउछ्यौ भनेपछि आमासँगको सल्लाहमा शर्मिला २०६६ साल फागुन १५ गते गाउँ छाडेर हिडिन् । उनलाई दिल्लीमा बजिरकी फुपुको घरमा बच्चा हेर्ने काम मिलाउने भनियो । रक्सौलसम्म गाडीमा लगे । सिमानामा प्रहरीले सोधपुछ गर्दा सँगै गएको दलालले पुलिलाई धाप मार्दै पर लगेर हातमा नोट थमाइदिएपछि निर्वाध अघि बढे । उनलाई आग्रामा लगेर सुकमानले बजिरको जिम्मा लगाइदियो । बजिरले एक दिन उनलाई त्यहाँ राखेर ‘काम गर्ने घरमा’ लग्यो । उसले मितदिदी भन्दै घर मालिक्नी चिनायो र हिड्यो । दुई दिनसम्म उनलाई एउटै कोठामा थुनेर राखियो । त्यतिबेलासम्म पनि शर्मिलाले आफू बेचिएको थाहा पाएकी थिइनन् । दुई दिनपछि कपडा फेर भन्दै कुर्ता दिइन् साहुनीले । पछि ढोका खोलेर हेर्दा त एक हूल केटीहरु बिभिन्न क्रियाकलापमा थिए । एउटा केटा आएर अश्लिल हर्कत गर्दै एकजना केटी लिएर कोठाभित्र छिरेपछि मात्र उनलाई आफू कोठीमा आइपुगेको आभास भयो । नमानेपछि बलात्कार त्यसपछि एउटा खाइलाग्दो युवक आयो, उसले साहुनीसँग कुरा गर्दैै ‘यो नयाँ केटी हो ?’ भनेर सोध्यो । साहुनीले नयाँ चीज हो भनेपछि अरुभन्दा बढि पैसा दियो । त्यसपछि कथित साहुनीले तँ यो केटासँग जा भनिन् । आफू बेचिएको थाहा पाइसके पनि अन्जान बनेर किन जाने भन्दै उनले प्रश्न गरिन् । साहुनीले ‘तेरो जागिर यहि हो,यो सँग सुत्नुपर्छ’ भनेपछि शर्मिलाले मानिनन् । त्यसपछि शुरु भयो उनीमाथिको यातना । दुई दिनसम्म कुटाइ सहिन् तर, केटासँग जान मानिनन् । तेस्रो दिन चार पाँचजना सुरक्षा गार्ड लगाएर समातेर उनको बलात्कार भयो । ‘मलाई बलात्कार गरेकोसम्म याद छ, बिउँझिँदा म बाथरुममा थिएँ, एउट केटी आएर तलाई ३ लाखमा बेचेर बजिर कोठीमा ल्याएको हो भनिन्’ त्यो दिन सम्झिँदै शर्मिलाले भनिन्-‘त्यसपछि त हरेक दिन म बलात्कृत हुन्थेँ, कतिले गरे हिसाबै भएन ।’ चुरोट र रक्सीको सहारा यसरी १३ वर्षीया बालिकाको दिनहुँ बलात्कारको श्रृंखला शुरु भयो । बलत्कारको पीडा र साहुनीको यातना भूल्न उनले रक्सी र चुरोटको सहारा लिन थालिन् । ‘६/७ महिना कोठीमा बसेँ तर, हरेक दिन रक्सी र चुरोटका नशा लिएकाले मलाई त्यहाँका धेरै कुराहरु अहिले याद छैनन्’ उनले यसो भन्दा आँखामा आँशु टल्किरहेका थिए । त्यहाँबाट भागेर आएपछि उनले त्यो नशा छोएकी पनि छैनन् । ‘त्यो पीडा भूल्ने लत थियो, अहिले त छुदै छुन्न’ उनले भनिन् । दिदी बहिनी एउटै कोठीमा उनी कसरी भाग्ने भन्ने उपाय सोचिरहेकी थिइन् तर, बजिर र सुकमानको दलाल गरोहले उनकी बहिनीलाई समेत त्यहि कोठीमा पुर्याए एक दिन । त्यसपछि त उनी बसेको धर्ती नै भासिए जस्तो भयो । आफ्नै अगाडि बहिनी बलात्कृत भएको अतित सम्झिँदा अहिले पनि उनलाई भाउन्न छुट्छ । दिदी बहिनी एउटै कोठीमा बेचिए र बेच्ने अपराधी एउटै थियो । कसरी भागे दिदी बिहिनी ? एक दिन त्यहिँ काम गर्ने एकजना केटी मरेका कारण सबै अर्को ठाउँमा गए । शर्मिलाका दिदी बहिनीलाई कोठीको ताला खुल्ला रहेको मौका छोपेर त्यहाँबाट भागे । कोठी सञ्चालकले टोलका दादाहरुलाई पैसा दिएर राखेका हुन्थे । त्यहाँबाट भाग्ने केटीलाई ठाउँ ठाउँको हत्या गरेर फालेका कुरा पनि उनीहरुले नसुनेका होइनन् । तर, त्यो नरकमा बस्नुभन्दा मरे मरिएला भन्दै भागेका उनीहरु अन्ततः निकै कष्ट र हण्डर खाँदै आग्राबाट बस चढेर सुनौली आइपुगे । बजिर विरुद्ध पहिलो लडाइ सुनौलीबाट अर्को बस चढेर काठमाडौं आएपछि बुबा आमालाई सम्पूर्ण कहानी सुनाए । त्यसपछि हिम्मत गरेर उनीहरुले आफू र आफूजस्तै सयौं नेपाली चेलीहरुको जीवन बर्बाद बनाउने बजिर गिरोहका सदस्य विरुद्ध कानुनी लडाइ थाले । ‘त्यतिबेलासम्म बजिरसिंह र उसको दलाल गिरोह विरुद्ध मुद्दा लड्ने त के, बोल्ने आँट पनि कुनै पीडितले गर्न सक्दैनथे’ शर्मिला र बिनाले भने-‘हामीले एकैचोटी लड्यौं र जित्यौं यसमै सन्तुष्टि छ ।’ विनाको बेग्लै कथा शर्मिला र विना एउटै कोठीमा भेटिए पनि उनीहरुको कथा अलग–अलग छ । बिना चाहिँ बैदेशिक रोजगारीका लागि लेबनान जाने भनेर दिल्ली पुर्याइएकी थिइन् । लैजाने गिरोह बजिर र सुकमान अनि टेकवहादुर नै थिए । भिसा आउँछ भनेर आग्राको एउटा घरमा राखे । टेकवहादुर विकले लेबनान पठाउने भनेर विनामात्र होइन, आफ्नै छोरी सहित ५ जना युवतीलाई त्यहाँ पुर्याएको थियो । उनीहरुलाई बजिरको जिम्मा लगाएर टेकवहादुर र दावा फर्किए । भिसा पर्खिएर बसेका बेला एउटा मान्छे आएर बजिरलाई सुटकेशभरी पैसा गनेर दिएपछि बिनालाई शंका भयो, कतै हामी कोठीमा बेचिएका त होइनौं ? आफ्नै छोरी बेच्ने बाउ तर, सँगै रहेकी टेकवहादुरकी छोरी सबिना (नाम परिवर्तन)ले आफ्नो बाबुले यस्तो काम गर्न नसक्ने दावी गरिन् । आखिर सत्य त्यहि रहेछ । बजिरले साहुनीको जिम्मा लगाएपछि उनीहरुलाई शुरुमै चुरोट तान्न भनियो । बेचिएको चाल पाएपछि उनीहरुले बजिरलाई बोलाइदेऊ भने । बजिर आयो, तर उनीहरुको कुरा सुन्नलाई होइन, उनीहरुलाई बलात्कार र यातना दिन आएको रहेछ । उसले पेटी खोलेर पालैपालो ती अबोध चेलीहरुलाई पिट्न थाल्यो ।
