
चिकित्सा पद्धतिले पनि ठूलै फड्को मारिसकेको छ । हुँदा हुँदा अब डाक्टरहरुले मान्छेको छातिमा टाउको उमार्न सक्ने भएका छन् ।हो, चीनमा भएको छ यस्तो । एकजना चिनिया पुरुषको देब्रे छातिमा डाक्टरहरुले टाउको उमारिदिएका छन् जुन अहिले बास्केटबल आकारको भैसकेको छ । करेन्ट लागेर नराम्रोसँग जलेर घाइते भएका यान जिनबिन नामका पुरुषको छातिमा मासुको नयाँ डल्लो बढाइदिएका हुन् डाक्टरहरुले । करेन्ट लागेर डढेपछि उनको नाक तथा दायाँ आँखा समेत गुमेको थियो । डढेर कुरुप भएको उनको अनुहारमा प्रत्यारोपण गर्नका लागि नयाँ अनुहार उत्पादन गर्नका लागि डाक्टरहरुले उनको देब्रे छातिमा टाउको फलाइरहेका छन् । चीनको लियाओनिङ प्रान्तस्थित शेनयाङ अस्पतालका डाक्टहरुले ६ महिनाअघि ती पुरुषको अनुहारलाई पूर्ववत रुप दिनका लागि उनको छातिमा नयाँ अनुहार उत्पादन गर्ने विस्तृत पद्धति सुरु गरेका थिए । त्यसपछि उनको छातिमा विशेष सुइमार्फत सलाइन पानी दिएर छाला उक्साइएको थियो । अहिले उक्त छाला यस्तो विन्दुसम्म फैलिसकेको छ की प्लास्टिक सर्जनहरुले त्यसमा नयाँ अनुहारको आकृति कुँद्न सक्छन् । अब यानका लागि नयाँ अनुहार सिर्जना गर्न सकिने आशा पलाएको डाक्टरहरुले बताएका छन् ।
