कलेज पोशाकमा फिल्म हेर्ने १३ विद्यार्थी पक्राउ

२०७१ कार्तिक २८ गते २८ कात्तिक, काठमाडौं । कलेज पोशाकमा फिल्म हेर्न गोपीकृष्ण हलमा गएका १३ विद्यार्थीहरुलाई शुक्रबार विहान प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त गौशालाले १० युवा र ३ युवतीलाई नियन्त्रणमा लिएको हो । प्रहरी निरीक्षक यादवबहादुर घर्ती नेतृत्वको टोलीले विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई सम्झाइ बुझाइ अभिभावकको जिम्मा लगाइएको महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी नायव निरीक्षक कृष्ण खड्काले अनलाइनखबरलाई जानकारी दिए । ‘जेरी’ फिल्म हेर्न बिभिन्न कलेजका विद्यार्थीहरु गोपीकृष्ण हल पुगेका थिए । प्रहरीले विहान साढे ९ बजे हल भित्रै छिरेर विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो । हल भित्रै छिरेर दर्शकहरुलाई नियन्त्रणमा लिई प्रहरीले आतंक सिर्जना गरेको भन्दै गोपीकृष्ण मुभिजले विरोध जनाएको छ । प्रहरीले कलेज र स्कूल पोशाकमा फिल्म हेर्न जाने, डान्सबार तथा रेष्टुरेन्ट जाने र पार्क धाउनेहरुमा निगरानी बढाएको छ ।