
हेलो...मधु जी, 'ल बधाई छ तपाईंलाई' शुक्रबार दिउँसो करिब १२ बजेतिर यस्तो फोन आयो । केको बधाई होला ? प्रश्न गरें । फोनमा उनले भनिन्, 'सञ्चारिका प्रोत्साहन पुरस्कार तपाईंलाई दिने निधो गरिएको छ ।'
अचानक पुरस्कार दिइने टुंगो लागिसकेको सुनेर मैले तत्कालै केही जवाफ दिन सकिनँ । उनले 'प्रेस रिलिज छिट्टै मेलमा आउँदैछ,' हेर्नुहोला भनेर फोन राखिन् । रिपोर्टिङको सिलसिलामा रत्नपार्क हिँड्दै थिएँ । पुरस्कार पाएको सुन्दा कसको मन पो खुसी हुँदैन थियो र ? तर पनि कताकता अनेक प्रश्न उब्जिन थाले । किन मलाई यो पुरस्कार दिन थालिएको होला ? कोट्याउन थालें पत्रकारितामा भर्ना भएको अवधिभरका कामहरू । पेसाको धर्म निभाइरहेकी मैले कतै आफू पुरस्कृत हुनैपर्ने दाबी गर्न सकिनँ । सजिलो उपाए, पुरस्कार घोषणा गर्ने संस्थासँगै सोध्न मन लाग्यो । किन मलाई यो पुरस्कार दिन लागिएको हो ? मनमा यिनै गनथन खेलाउँदै थिएँ । यत्तिकैमा फेरि सेल फोन नम्बरबाट फोन आयो । 'ल मधु तिमीलाई बधाई छ है' जसरी पहिला बधाई पाएकी थिएँ उसैगरी फेरि पाएँ । नम्बर सेभ नभएकाले धन्यवाद भन्नुभन्दा पहिले उहाँको नाम सोधें । संस्थाकी अध्यक्ष पो हुनुहुँदोरहेछ । आधिकारिक बधाई दिन उहाँले मलाई फोन गर्नुभएको रहेछ । धन्यवाद दिन नपाउँदै फोनबाट जवाफ आयो, 'तिमीले कति वर्ष भयो रे कान्तिपुरमा काम गर्न थालेको ?' अध्यक्षज्यूको यो प्रश्नले मेरो पूरै मस्तिष्कमा खलबली मञ्चियो । पुरस्कार दिने निर्णय गरिसकेपछि कति वर्ष काम गर्नु भो ? भनेर सोधिनु कत्तिको सान्दर्भिक होला । मैले उहाँले सोधेको प्रश्नमा जवाफ दिने मात्रै काम गरें- 'कान्तिपुरमै गरेको ५ वर्ष पुगेछ ।' पत्रकारितामा पाँच वर्ष भन्ने शब्दबाटै अध्यक्षज्यू आफैं दंग पर्नु भो र भन्नु भो, 'आम्मै ! यति धेरै पुगेछ ।' फेरि थपें, योभन्दा अघि दुई वर्ष रेडियोमा र दुई वर्ष अनलाइनमा काम गरेको अनुभव पनि छ । मेरा अनुभवले अध्यक्षज्यू झनै अचम्मित पर्नु भो । यत्तिकैमा अध्यक्षज्यूलाई प्रतिप्रश्न गरें, 'हजुर कुन आधारमा म पुरस्कृत हुँदै छु होला ?' अध्यक्षज्यूले सजिलै जवाफ दिनुभो, भर्खरै पत्रकारिता सुरु गर्दै गरेका महिला सञ्चारकर्मीलाई यस क्षेत्रमा लाग्ने हेतुले प्रोत्साहन सम्मान दिन थालेको । उहाँले थप्नुभो, 'प्रमाणपत्र मात्रै हो है बहिनी, पैसा, नगद केही छैन ।' पुरस्कार दिने संस्थाको निर्णयले खासै दुःखी बनाएको थिएन जति अध्यक्षज्यूले फोनमा अत्यन्त सस्तो शैलीमा 'पैसा छैन प्रमाणपत्र मात्रै' भन्ने जवाफले दिएको थियो । उहाँसँगको फोन संवादमा मैले फगत अपमानबोधबाहेक केही गर्न सकिनँ । फेरि मैले सोधें, 'तपाईं कुन आधारमा मलाई पुरस्कृत गर्दै हुनुहुन्छ ?' अध्यक्षज्यूको अर्को नयाँ जवाफ पाएँ, 'जातीय समावेशी गराउन खोजेको हो ।' अहिलेसम्म म मात्रै अपमानित भएको महसुस गरेकी थिएँ तर समावेशी शब्दले समावेशी शब्दकै अपमान गरेको पाएँ । दलित समुदायकी भएकीले मलाई उक्त पुरस्कार दिन लागिएको सुन्दा दुःख लाग्यो । सोधें- के समावेशी गर्दा त्यसको योग्यता चाहिँदैन र ? यदि चाहिँदैन भने त्यस्तो समावेशी पुरस्कार पाउनुको के अर्थ ? लामो समयदेखि महिला सञ्चारकर्मीको हक हितका लागि वकालत गर्ने अध्यक्षज्यूको यो बुझाइ देखेर अझै उदेक लाग्यो । अध्यक्षज्यू, समावेशी खाली ठाउँ भर्नु होइन, त्यहाँ पनि योग्यता, क्षमता र सीपको त खाँचो पर्छ होला नि ? पुरस्कार दिने घोषणा गरिसकेपछि व्यक्तिगत बायोडाटा खोजिनु, समावेशीका लागि तपाईंलाई चुनेको भन्दै फितलो कारण खुलाउनु, पुरस्कारमा 'रकम छैन है' भन्दै पुरस्कार र सम्मानकै मानमर्दन भइरहेको देख्दादेख्दै म पुरस्कार वितरण कार्यक्रममा जान सकिनँ । अपमानित गर्ने शैली र चित्तबुझ्दो मापदण्ड पूरा नभएको पुरस्कार ग्रहण गर्न मन नलागेर मैले अस्वीकार गरें । पुरस्कार लिन असमर्थन जनाएपछि अध्यक्षज्यूले बोर्ड मिटिङ गरेर अरू कसैलाई नै दिने निर्णय गर्ने सुनाउनु भो । उहाँको यो निर्णयले मलाई थप आनन्द बनायो । पुरस्कार दिनुभन्दा नलिनुमा म धेरै सम्मानित भएको महसुस गरेकी थिएँ । पुरस्कार हचुवाको भरमा लिने र दिने कुसंस्कृति हाम्रो सन्दर्भमा बढी नै हावी भएको छ । सायद यही प्रवृत्तिले होला अचेल पुरस्कार दिने र लिनेहरू च्याउजस्तै भेटिन थालेका छन् । सबै पुरस्कारलाई एउटै घानमा हालेर निष्कर्ष त निकाल्न सकिँदैन तर अहिले जे जसरी पुरस्कार दिने प्रवृत्ति बढ्दो छ, त्यसले पुरस्कारलाई नै सस्तो बनाउँदै लगेको छ । पुरस्कृत गराउनेले पुरस्कार पाउने व्यक्तिको क्षमता, सिर्जनशीलता वा अरू आधारभूत मापदण्डलाई हेर्दै नहेरी हचुवाको भरमा दिइने प्रवृत्तिसँग मेरो असहमति छ । त्यसकारण पुरस्कार स्विकारिनँ ।