चलचित्र निर्देशक आलोक नेम्बाङ मृत फेला


 आलोक नेम्बाङ–पुलेसो समाचार काठमाडौं, २० कात्तिक । युवा चलचित्र निर्देशक आलोक नेम्बाङ आज बेलुका ८ बजे आफ्नै निवासमा मृत भेटिएका छन् ।
गोंगबुस्थित ग्रान्ड भी भिल्ला हाउजिङस्थित निवासमा उनी आत्महत्या गरेको अवस्थामा फेला परेका हुन् । उनी चार महिनादेखि यस हाउजिङमा बस्दै आएका थिए । आलोकलाई बाथरुमको ढोकामा झुन्डिएको अवस्थमा आफूले देखेको मोडल नीराजन प्रधानले बताए । ‘दाइ म आउँछु भनेर ६ बजेतिर उहाँलाई फोन गरें । त्यसको केही बेरमा फोन गर्दा उठेन’, उनले सुनाए, ‘यहाँ आइपुग्दा बाथरुममा झुन्डिएको अवस्थामा देखें ।’ उनका अनुसार महाराजगन्ज प्रहरीको टोलीले आलोकको शव निकालेको छ । अहिले प्रहरीले शवको तस्बिर खिच्न र छुन रोक लगाएको छ । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । ‘सानो संसार’बाट चलचित्र निर्देशनमा लागेका आलोकको अन्तिम चलचित्रका रूपमा अब ‘अझै पनि’ आउने भएको छ । यस चलचित्रको पोस्ट प्रोडक्सनको काम भइरहेको छ । इमेज टेलिभिजनमा भीजेका रुपमा काम गर्दागर्दै म्युजिक भिडियो निर्देशनमा लागेका उनी कान्तिपुर टेलिभिजनमा पनि आबद्ध भएका थिए । त्यसपछि टेलिभिजन जागिर छाडेर निर्देशनमा लागेका उनको दुई सयभन्दा बढी म्युजिक भिडियो छन् । उनले निर्देशनका साथै अभिनयसमेत गरेका थिए ।