पत्नीले एक साता अघि अर्कैसँगै भागेर बिहे गरेपछि नाबालक दुई छोराछोरीलाई झुन्ड्याए आत्महत्या



विराटनगर, मंसिर २१ - मोरङको बेलबारी २ का एक व्यक्तिले आफ्ना दुई नाबालक छोराछोरीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । स्थानीय ३५ वर्षीय ताराजुन राईले आज बिहान आफ्ना पाँच वर्षीय छोरा दीपेन्द्र र तीन वर्षकी छोरी दिपिकालाई प्लाष्टिकको पासो बनाएर झुन्ड्याएपछि आफूले पनि झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । बेलबारीस्थित इलाका प्रहरी कार्यालयका निरीक्षक दुर्गा दाहालका अनुसार बिहान करिब साढे पाँच बजे घटना भएको हो । ताराजुनकी पत्नीले साताअघि अर्कैसँगै भागेर बिहे गरेको परिवारबाट जानकारी पाएको प्रहरीले जनाएको छ । बालबालिकाकी हजुरआमाले बिहान उनीहरुलाई ओछ्यानमा नदेखेपछि खोजी गर्दा घरभन्दा केही पर तिनैजना झुन्डिएको अवस्थामा फेला परेका थिए । प्रहरी निरीक्षक दाहालका अनुसार प्रारम्भिक अनुसन्धानबाट ताराजुनले छोराछोरीलाई झुन्ड्याएपछि आफूले पनि आत्महत्या गरेको पाइएको छ । परिवार, छिमेक र स्थानीय बासिन्दाबाट बुझ्दा अनि घटनास्थलको अध्ययन गर्दा घटनामा अरु कसैको संलग्नता नदेखिएको दाहाले बताए । तीनैजनाको शब पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । पोष्टमार्टमको रिपोर्टपछि थप कुरा खुल्न सक्ने प्रहरीले जनाएको छ ।