‘पाँडे’ भद्रगोलमा यसरी जन्मियो



‘मेरी आम्मोइ नि,खत्तम भो,बर्बाद भो’
भन्ने 'पाँडे'लाई चिन्दैनन् पर्दाबाहिर काठमाडौं – हास्य टेलिशृंखलामध्ये छाटो समयमै चर्चित बनेको शंकर आचार्य निर्देशित मद्रगोलका सबै पात्र आ–आफ्नै विशेषतायुक्त छन् । तीमध्ये ‘पाँडे’ निकै चर्चित छ । झुपडीमा जयन्ते भतिजोलाई आश्रय दिइरहेको पाँडे गाउँभरिकै टेन्सनदार पात्र हो । मेरी आम्मोइ नि,खत्तम भो बर्बाद भो,मारी, डाम्ना,होइन त जस्ता ठेट नेपाली शब्द बोल्ने पाँडेले अनेक उपद्रो गर्छ । अरुलाई रिंग्याउने ,छक्याउने,ठग्ने,भँडुवा र आफैंले खनेको खाल्डोमा आफैं पर्ने बेबकुफ पाँडेले दर्शकको गालीका साथमा गरिबीको पराकाष्ठाले गर्दा सहानुभूतिसमेत पाउने गर्छ । अहिलेसम्म ५६ भाग प्रसारण भइसकेको भद्रगोलमा त्यही चुत्थो पाँडेको भूमिका निभाउने अभिनेता हुन्–अर्जुन घिमिरे । नुवाकोटका २८ वर्षीया अर्जुन हरेक शुक्रबार साँझ नेपाल टेलिभिजनको स्क्रिनमा ६२ वर्षीय पाँडेका रुपमा देखिने गर्छन् । जवान अर्जुनलाई पाँडेको रुप धारण गर्न कम्ती सास्ती पर्दैन । उनले मफलर,टोपी,च्यातिएको कोट,चस्मा,फुलेका दाह्रीदेखि लिएर बोलीको स्टाइल ,लबज , कुप्रोपना,हिँडाइ सबै कुरामा पाँडेकरण गर्नुपर्छ । ‘कम्तीमा पनि एक दर्जनभन्दा बढी कुराको तयारी गरेपछि मात्रै पाँडे बनिन्छ’,अर्जुन भन्छन्,‘जवान मान्छेले बुढो आवाज निकाल्न सास्ती हुन्छ । मैले यही चरित्रका लागि करिब ११ महिना अभ्यास गरेकाले गेटअपमा उत्रिएपछि सहजै हुन्छ ।’ पाँडे चरित्र कसरी निर्माण भएको होला ?अर्जुन भन्छन्,‘मेरो गाउँमा एकजना घिमिरे बा हुनुहुन्छ,उहाँकै स्वभाव र शैलीलाई अलि बढी नै विगारेर पाँडे बनाएको हुँ ।’ नेपाली समाजमा कसैले भँडुवा काम गर्यो,तोर्पे कुरा गर्यो भने कस्तो आलुपाँडे रहेछ भन्ने गरिएकाले त्यसैलाई मिलाएर पाँडे भनिएको उनी बताउँछन् । भद्रगोलमा संलग्न अन्य कलाकारलाई दर्शकले पर्दाबाहिर एकै झलकमा चिन्ने गरे पनि उनलाई कसैले चिन्दैनन् । किनभने दर्शकले उनी पाँडे बुढा नै व्यक्ति होलान् भन्ने ठान्छन् ,आजको नयाँ पत्रिका दैनिकमा लक्ष्मण सुवेदीको सामग्री प्रकाशित छ ।